Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्यसहित थप आठ जनाको मृत्यु

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्यसहित थप आठ जनाको मृत्यु

  • आइतवार, कार्तिक १६ २०७७

  • 1.2K
    SHARES

  • कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्यसहित थप आठ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टा नबित्दै नेपालमा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत, झापा बाँके बारा र रुपन्देहीका संक्रमित रहेका छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको गएराति प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

    त्यस्तै, झापामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एक जना पुरुष रहेका छन् ।

    दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुष, कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको र गौरादह–४ मिलन चोकका ७४ वर्षीय वृद्धको मृत्यु भएको हो ।

    त्यसैगरी, बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यस्तै, बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीय वृद्धको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

    उता, बाराका नेपाली कांग्रेस महासमिति सदस्य मदन मण्डलको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकाको टेढाकट्टी घर भएका ४५ वर्षीय मण्डलको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै आज बिहान मृत्यु भएको हो ।

    शनिबार स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा मण्डलको रिपोर्ट पोजिटिभ आएको थियो ।

    यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    यस्तै गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ७ हजार ५ सय नाघेको छ । आज मध्यान्हसम्म थप २५२ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ७ हजार ५६८ पुगेको हो ।

    प्रदेश सवस्थ्य निर्देशनालयका अनुसार आज कास्कीका मात्रै १५८ जना रहेका छन् । त्यस्तै अन्य थपिएका संक्रमितमा नवलपरासी पूर्वका ३१, तनहुँका २५, बागलुङका ४, पर्वत ३, स्याङ्जा ७, म्याग्दी २, गोरखा ११ र लमजुङ ११ रहेका छन् ।


    आइतवार, कार्तिक १६ २०७७०२:१०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij