काठमाडौं । सत्ता जोगाउनका निम्ति हर सम्भव प्रयत्न गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गर्नुभएको छ । मन्त्री फिर्ता बोलाउनका निम्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले सल्लाह गरिसक्नुभएको छ । असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नुभएको हो । हाल सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी छन् । अबको मन्त्रीमण्डल हेरफेर र विस्तारमा हालका केही मन्त्री हटाएर मन्त्रालय खाली गर्ने र नयाँलाई समेट्ने तयारी भइरहेको छ । माओवादी केन्द्रका सांसद राजन दाहालले भने सहमति भई नसकेको बजेट पारित भएपछि टुंगो लाग्ने बताउनुभयो ।
मन्त्रिमण्डल हेरफेर गर्दा माओवादी केन्द्र र एमालेका एक एक जना मन्त्री फिर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्दा बजेट पास भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर र पुनर्गठन गर्न सकिने भनेर सहमति दिएको बुझिएको छ । दुई नेताबीच भएको सहमति अनुसार माओवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका हितराज तामाङ र एमालेबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी रहेको बुझिएको छ । एमाले प्रमुख सचेतक एवं सांसद महेश बर्तौलाले सरकारलाई विश्वासको मत दिएको पार्टीलाई सरकारमा भित्र्याउनु स्वाभाविक रहेको बताउनुभयो ।
राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय नौलो नरहेको बताउनुभयो । सानो दलको प्रधानमन्त्री हुँदा यस्ता अस्थिरता आइरहने उहाँको तर्क छ ।
मन्त्रीमण्डल पुनर्गठनमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयारीमा छन् । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड हुँदै हाल जर्मनी भ्रमणमा रहेका छन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । सरकारले हनिमून पिरियड पार गरिसक्दा पनि मुलुक र जनताको पक्षमा दूरगामी महत्वका काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।