काठमाडौं । उपत्यकाका पाँच क्याम्पसका नेविसंघ क्याम्पस इकाई समितिका सभापतिले पोखरा काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूलाई इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । पोखरा विश्वविद्यालयका विद्यार्थीहरूलाई इन्जिनियरिङ लाइसेन्स परीक्षामा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।
युनिभर्सल कलेजका नेविसंघ इकाई सभापति विनोद रावल, कसमस कलेजका सभापति जेनिथ साह, एन. सी.आई.टी कलेजका सभापति टिकेश भट्ट, ऐभरेष्ट कलेजका सभापति प्रजित अधिकारी र नेपाल इन्जिनियरिङ कलेजका सभापति सलन खत्रीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छन् । उनीहरूले नेपाल इन्जिनियरिङ काउन्सिल,पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयका साथै अन्य सरोकारवालाको ध्यानाकर्षण गराएका हुन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नयाँ इन्जिनियरिङ लाइसेन्स परीक्षाको फर्म यही मिति २०८१ असार ०७ गतेसम्म तोकिएको छ । देशकै दोस्रो ठुलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्वविद्यालयको नतिजा लगत्तै प्रकाशित भएको जगजाहेर नै छ । परीक्षामा सहभागी हुन सम्पूर्ण प्रक्रियाहरू पुरा गर्न समय लाग्ने गर्दछ । यो विषयलाई ध्यानै नदिई नेपाल इन्जिनियरिङ काउन्सिलले प्रकाशित गरेको निर्णय खेदजनक छ । विद्यार्थीहरूलाई परीक्षा दिनबाट वञ्चित गराउने नेपाल इन्जिनियरिङ काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापरबाही हो । तसर्थ यो निर्णय सच्चाएर थप म्याद थपी विद्यार्थीलाई परीक्षा दिने अवसर दिइयोस् । हाम्रो विज्ञप्तिलाई व्यवस्था गरी २४ घण्टा भित्र उक्त निर्णय नसच्चाए नेपाल विद्यार्थी संघले नेपाल इन्जिनियरिङ काउन्सिल र पोखरा विश्वविद्यालयविरुद्ध थप संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछ ।’
उपत्यकाका पाँच सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाईसमेत भेटेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरूलाई नेपाल इन्जिनियरिङ काउन्सिल इन्जिनियरिङ लाइसेन्स परीक्षामा सहभागी हुने वातावरण मिलाउन उचित पहल गरिदिन आग्रह गरेका छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापरबाहीका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरूको भविष्य अन्योलमा पर्ने अवस्था आएको र यसको मुख्य कारक पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रक विद्यार्थीहरूको नतिजा प्रकाशित भए पछि पनि आफ्नो कर्तव्य बाट भागी आफू खुसी बिदामा बसी सम्पूर्ण विद्यार्थीको भविष्य अन्योलमा परेको परीक्षा नियन्त्रक को चरम लापरबाहीका कारण आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको एन. सी.आई. टी कलेजका सभापति टिकेश भट्टले बताउनुभयो ।