काठमाडौं । नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज थप ३ हजार १ सय ५० जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ३७ हजार ९९२ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।
यस्तै, संक्रमण परीक्षण निशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिनुभएको हो ।
मन्त्रालयले कोरोना संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै उक्त आदेश बदर गर्न माग गरेको छ ।
अधिवक्ता लोकेन्द्र ओली र केशरबहादुर केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस संक्रमण परीक्षण निशुल्क गर्न परमादेशको आदेश जारी गरेको थियो ।
तर, स्वास्थ्य मन्त्रालयले भने निशुल्क परीक्षण गर्न राज्यको स्रोत साधन र जनशक्तिले नभ्याउने भन्दै शुल्क लिनुपरेको जिकिर गरेको छ ।
साथै, स्वास्थ्य मन्त्रालयको निर्देशनपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितसँग भर्ना हुनुअघि धरौटी रकम नलिने जनाएको छ ।
अस्पतालले आज एक विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितसँग भर्ना हुँदा धरौटी रकम बुझाउनु नपर्ने प्रावधान कार्यन्वयन गर्ने जनाएको हो ।
अस्पतालले आजदेखि नै सबै वार्ड र काउण्टरलाई पत्राचार गरी धरौटी रकम नलिन निर्देशन दिइएको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले विज्ञप्ति माफर्त जानकारी दिनुभएको छ ।
अस्पतालले धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउनबाट बञ्चित नगराइएको पनि स्पष्ट पारेको छ ।
यस्तै, स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको निशुल्क उपचार गर्ने पनि अस्पतालले जनाएको छ ।
यता, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कोरोना संक्रमणको रिपोर्ट ‘नेगेटिभ आएको छ ।
कोरोना पुष्टि भएपछि १० दिन पाटन अस्पतालमा उपचार गराउनुभएका मन्त्री पोखरेल त्यसपछि भने मन्त्री क्वाटरमै आइसोलेसनमा बस्नुभएको थियो ।
मन्त्री पोखरेलले २१ दिन पछि आफ्नो रिपार्ट नेगेटिभ आएको बताउनुभएको हो । स्वास्थ्य प्रोटोकल फलो गरेरै आफु आइसोलेसनमा बसेको उहाँको भनाइ छ ।
संक्रमण भई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा केही सुधार आएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा सारिएका नेताको स्वास्थ्यमा केही सुधार आएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिनुभयो ।
विश्वकर्माको स्वास्थ्य सुधारको प्रकृयामा रहेको र श्वास फेर्न पनि गाहो नभएको डा. पाण्डेले बताउनुभयो ।
यसैगरी, विश्वकर्माको स्वास्थ्यमा जटिल समस्या देखिएका कारण अझै केही समय प्रतीक्षा गर्नुपर्ने डा. पाण्डेको भनाइ छ ।