काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी रहेको छ।
त्यस्तै सोमबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस भएको थियो । सोमबारको बहसपछि मंगलवार जवाफ दिन करिब एक घण्टा समय चाहिने माग रिट निवेदकहरूले गरेपछि हेर्दाहेर्दैमा राखिएको हो । भोलि मुख्यमन्त्रीका तर्फबाट एक जनाले मात्र बहस गर्ने अनि जवाफ दिने इजलासबाट निर्देशन भएको छ ।
सोमबार मुख्यमन्त्री कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी ,अधिवक्ताहरू माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावल लगायतले बहस गरेका थिए । भोलि अधिवक्ता एवं कोशी प्रदेश नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले बहस गर्ने अनि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ।