काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोक्नुभएको छ ।
राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी तोकेको उल्लेख छ ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राखेको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको ब्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी तोक्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि लगत्तै राष्ट्रपति पौडेललाई भेटेर त्यसबारे जानकारी गराउनुभएको थियो। प्रचण्ड आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेर खुमलटारस्थित निजी निवास सर्नुभएको छ।