काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्ता र प्रतिपक्षी दल आमनेसामने हुने क्रम अझै रोकिएको छैन । प्रतिपक्षमा रहँदा घोक्रो सुक्ने गरी कराउने र सत्तामा रहँदा बचाउने प्रवृत्ति नेपाली राजनीतिको रोग नै बन्दै गएको छ । कतिपय एजेन्डाहरू संसद्मा प्रवेश नगर्दा पनि हुने खाले हुन्छन् तर, ती एजेन्डाहरूले नै संसद्को समय खेर फालिरहेको हुन्छ । आजको संसद् बैठकमा पनि एकले अर्कोलाई आरोप लगाउनै ठिक्क भयो । नयाँ दल खोलेर मुलुकको गृहमन्त्री बनिसकेका रास्वपाका सभापति रवि लामिछानेले आफ्नै पार्टीका नेता डा. स्वर्णिम वाग्लेको बचाउ गर्दै समय खर्चिनुभयो । एमालेका सांसद रघुजी पन्तको प्रश्नलाई जवाफ दिँदै उहाँले आफ्नो विगत नबिर्सन सचेत गराउनुभयो ।
एमालेका सांसद ठाकुर गैरेले नयाँ बनेको समीकरणमाथि जनताको अपेक्षा रहेको दाबी गर्नुभयो । सरकार गठन भएसँगै सुशासनको क्षेत्रमा बिस्तारै प्रगति हुँदै गएको उहाँको भनाइ छ । आम नागरिकको दैनिकीसँग घुलित हुने गरी काम गर्नुपर्ने पनि गैरेको सुझाव छ ।
सत्तासीन दल कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले व्यवस्थालाई नै गलत प्रयोग गरेका कारण दुई ठूला दल एक ठाउँमा आउनुपरेको बताउनुभयो । प्रचण्ड सरकारले वर्तमान संविधान र व्यवस्थालाई नै बदनाम गराएर जनतामा वितृष्णा पैदा गराएको उहाँको दाबी छ ।
फरक ध्रुवका दुई ठूला दलहरूको सहकार्यले प्रतिपक्षीमा रहेका पार्टीहरू त्रसित बनेका छन् । संविधान संशोधनको मुद्दा आफूहरूलाई कमजोर बनाउन ल्याइएको उनीहरूको आरोप छ । थ्रेस होल्ड बढाउने र राजनीतिक दल विभाजनसम्बन्धी विधेयकलाई परिमार्जन गर्ने सरकारको आन्तरिक तयारी रहेको केही नेताले बताउने गरेका छन् ।