काठमाडौं । २०६४ सालदेखि प्रत्यक्ष परोक्ष रुपमा सरकारमा रहेको माओवादी केन्द्र प्रतिपक्षीमा पुगेपछि आक्रामक बन्दै गएको छ । दुई ठूला दलहरूले सत्ता सहकार्य गरेपछि सबैभन्दा बढी माओवादी केन्द्रलाई टाउको दुखाई बनेको छ । आजकै संसद् बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्नुभएको छ । प्रचण्डले राजनीतिक बलमिचाइँ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार रहेको दाबी गर्नुभयो । आफूले सक्ने मिडियादेखि डेडिकेडेट ट्रंकलाइनसम्म यो सरकारले चलाएको बताउँदै प्रचण्डले जनताको शक्तिलाई हेर्दै जान चुनौती दिनुभयो ।
पछिल्लो समय चलेको हावा हुन्डरीमा दलहरूलाई चुनौती रहेको सांसदहरूले बताएका छन् । बेलैमा सचेत नभए विभिन्न तत्त्वहरूले मुलुकको व्यवस्थामाथि नै खतरा पार्नसक्ने उनीहरूको आशय रहेको छ । लोकतन्त्रलाई धक्का नलागेपनि बेलाबखत भइरहेका षडयन्त्रहरूलाई नजरअन्दाज गर्न नहुने स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको भनाइ रहेको छ । भ्रष्टाचारको बिगबिगी रहेको अवस्थामा सुधारतर्फ सरकारले कार्य गर्न सक्नुपर्ने सिंहको सुझाव छ ।
सत्तापक्षका सांसदहरू यतिबेला मौन प्रायः रहेका छन् । चीरप्रतिद्वन्द्वीहरुबीचको सहकार्यलाई जोगाउनका निम्ति दुवै पक्ष सजक भएको देखिन्छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेको अवस्थामा धमिलो पानीमा माछा मार्नेहरूको कमी नहुने भन्दै यो गठबन्धनको विकल्प समेत नरहेको स्पष्ट पार्नुभयो । विभिन्न आकांक्षहरुलाई तिलाञ्जली दिएर भएपनि मुलुकलाई स्थायी राजनीतिकको दिशामा लैजानुपर्ने उहाँको भनाइ छ ।
सरकार अहंकारपूर्ण बाटोतर्फ अग्रसर भएको प्रतिपक्षी दलको टिप्पणी रहेको छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भए जनताले देखाउने प्रचण्डको अभिव्यक्ति रहेको थियो । प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिनसक्ने उहाँको चेतावनी छ ।