काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ । उहाँले सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमा छलफल गर्नुपर्ने धारणा ट्विटरमार्फत सार्वजनिक गर्नुभएको हो ।
कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसद्मा छलफल हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ ।
‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला ! उसैले छिनोफानो गरास् !’, उहाँले लेख्नुभएको छ, ‘ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद् अधिवेसन बोलाएर छलफल गर्ने कि ! कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध तथा अन्य विषयमा !’
