काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
बैठक सञ्चालन गर्न सहयोग नगरेको भन्दै सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी कार्यक्रमहरू हटाएर बैठक स्थगित गर्नुभएको हो । अब अर्को बैठक भदौ ३० गते दिउँसो १ बजे बस्नेछ।
सभामुख घिमिरेले नेकपा एमाले सांसद योगेश भट्टराईले संसद्मा बोल्दाखेरी प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादी केन्द्रका सांसदहरूले विरोध जनाएका थिए।
सभामुखले छलफलका क्रममा उक्त हिंसा भन्ने शब्द असंसदीय नभएकाले संसद्को अभिलेखबाट हटाउन आवश्यक नभएको बताउनुभएको थियो।
केही समयअघि संसद् बैठकमा एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै संसद्को अभिलेखबाट हटाउन माओवादी केन्द्रका सांसद हितराज पाण्डेलगायतले माग गर्नुभएको थियो।