काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता भुक्तानी नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ।
बिहीबार(आज) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चाडपर्वका समयमा व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्नेमा राख्दै भुक्तानीको समस्या समयमा नै समाधान नभए तत्काल सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो।
विगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताललगायतका आयोजनाहरूको निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ रहेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो।
ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको अवस्थामा समेत हाल: बिना बजेटका टेन्डर आह्वान भएबाट निर्माण उद्योगमा अझ प्रतिकूल अवस्था उत्पन्न भएको उहाँले बताउनुभयो ।
अध्यक्ष सिंहले यसअघि कुनै आर्थिक वर्षमा भुक्तानी बाँकी भए आर्थिक वर्षको अन्त्यमा दिन गरिएकोमा दुई आर्थिक वर्षयता आर्थिक वर्षको अन्त्यमा पनि पूर्ण भुक्तानी हुन नसकेको बताउनुभयो। महासंघले समयमा नै भुक्तानी नहुँदा व्यवसायीहरूले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकमसमेत बुझाउन नसकिएको र जसका कारण धेरै कानुनी जटिलतासमेत उत्पन्न भएको जनाएको छ।