काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अर्का अध्यक्षसँग गर्ने भनिएको कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै कार्यदलका सदस्य खासगरी उनीनिकट शंकर पोखरेल, विष्णु पौडेल र नेपालनिकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका हुन् ।
तर, प्रचण्डनिकट जनार्दन शर्मा र पम्फा भुसाल बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै ओलीसँग छलफल गर्नुको कुनै अर्थ नभएको भन्दै उनीहरु त्यहाँबाट फर्किएका हुन् ।
नेता रावलले आफूहरुले छलफलका लागि ओलीसँग समय मागेको तर बालुवाटार छिरेपछि मात्रै शर्मा र भुसालले आफूहरु आउन नसक्ने खबर गरेको र आफूहरुले उनीहरुको उपस्थितिबिना प्रधानमन्त्री ओलीसँग छलफल गर्न नचाहेको बताउनुभयो ।
नेकपामा उत्पन्न विवाद समाधानका लागि गत साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा ‘विवाद समाधान कार्यदल’ गठन गरिएको थियो ।