काठमाडौं । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।
बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार खोज तथा उद्धारका क्रममा उहाँको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् । बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ ।