काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनाशकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनः निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवङ्गतहरूमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनः निर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताउनुभएको हो।
प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरूका रोकिएका स्थितिमा दसैँ अगावै सम्पूर्ण प्रयासहरू गरेर नाका बाटाहरू खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिनुभयो।