काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुग्नुभएको छ ।
पोखरेल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भेटवार्तामा सक्रिय रहँदै आउनुभएको छ ।
आज बिहान खुमलटार पुुग्नुभएका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग आग्रह गर्नुभएको थियो । तर, प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै समस्या समाधानबारे छलफल हुने बताएको स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको समस्याबारे सचिवालय समितिमै छलफल गर्नुपर्ने अडान लिनुभएको छ । प्रधानमन्त्री ओलीले भने पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको धारणा राख्दै आउनुभएको छ ।
प्रचण्डसहित सचिवालयका पाँच नेताले तत्काल सचिवालय बैठक बोलाउन सहमति दिन भन्दै कात्तिक २२ मा दुई पन्ने लिखितपत्र बुझाएका छन् । तर, प्रधानमन्त्री ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव विष्णु पौडेलमार्फत सोमबार प्रचण्डलाई पठाउनुभएको थियो ।
प्रचण्डले भने प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत नभए कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक आफैले बोलाउने तयारी गर्नुभएको छ । प्रचण्डले छुट्टै बैठक बोलाए पार्टी विभाजन गर्ने प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । तर, प्रधानमन्त्री निकटका नेताहरु भने यो अवस्था आउन नदिन सक्रिय बनेका छन् ।