काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसामू बिहीबार (कात्तिक २७ गते) सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ ।
तर, उक्त प्रस्तावमा ओलीले सहमति जनाउनुभएको छैन ।
ओलीसँगको भेटपछि प्रचण्डले सचिवालयको बैठक माग गर्ने अन्य चार नेतासँग आजै धुम्बाराहीस्थित पार्टी कार्यालयमा छलफल गर्नुभएको छ ।
छलफलमा नेकपाका सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीलाई दुईदिन कुर्ने निर्णय गरेका छन् ।
बहुमत सदस्यहरुको आज बसेको अनौपचारिक बैठकले २७ गते ओलीसहितको बैठक बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि शनिबार सचिवालयका पाँचजना सदस्य अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई पत्र बुझाएका थिए ।
सचिवालय बैठक बस्न दुई अध्यक्षको सहमति चाहिने पार्टीको विधानमा उल्लेख छ ।