काठमाडौं । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवामा ल्याइएको छ । उनी आएको बुद्ध एयरको विमान १२ः२० मा पोखराबाट भैरहवामा ल्याण्ड भएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।
पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको हो। लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरुले प्रदर्शन गरिरहेको रास्वपा प्रदेश अध्यक्ष देवराज पाठकले बताए ।
उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन् । उनीहरुले ११ बजेदेखि प्रदर्शन गर्ने सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जनाए । उनले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको बताए ।