काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयमा राखेको राजनीतिक प्रस्तावलाई ‘अराजनीतिक प्रस्ताव’को संज्ञा दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले राखेको प्रस्तावलाई थापाले अनाधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दाको संज्ञा दिँदै यसले तथ्यको नांगो भ्रष्टीकरण गरेको आरोप लगाउनुभएको छ ।
‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनाधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो’, उहाँले लेख्नुभएको छ ।
प्रेस सल्लाहकार थापाले प्रचण्डको यस्तो लाञ्छनापत्रमाथि पार्टी कमिटीहरूमा छलफल हुननसक्ने ठोकुवासमेत गर्नुभएको छ ।
‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो’, उहाँले भन्नुभएको छ, ‘यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’
