Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

खुमलटार गएर पौडेलले भेटे प्रचण्ड, यस्तो छ भेट्नुको कारण

खुमलटार गएर पौडेलले भेटे प्रचण्ड, यस्तो छ भेट्नुको कारण

  • मंगलवार, मंसिर २ २०७७

  • 1.7K
    SHARES

  • खुमलटार गएर पौडेलले भेटे प्रचण्ड, यस्तो छ भेट्नुको कारण

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

    प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहनुभएको छ ।

    मंगलबारका लागि सचिवालयका बहुमत सदस्यहरुले बोलाएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा हुनुहुन्छ भने बहुमत सदस्य भने सोहीदिन नै बैठक बस्नु पर्ने पक्षमा छन् ।

    पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाट बढाउनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेतालाई भेट्नुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटिसक्नुभएको छ ।

    पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्ष विपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

    यसैबीच, नेकपाको मंगलबार बस्नेगरी तय गरिएको सचिवालय बैठक थप अन्यौलमा परेको छ । गत शुक्रबार बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रस्तावमा विवाद भएकाले बैठक अन्यौलमा परेको हो ।

    पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित उहाँ पक्षका नेताहरुले प्रचण्डको प्रस्ताव गैरराजनीतिक र कुण्ठापत्र मात्रै भएकाले त्यसबारेमा बैठकमा छलफल गर्न नसकिने बताएका छन् । उनीहरुले प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म सचिवालय बैठक नबस्ने दावी पनि गरेका छन् ।

    तर, प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षका नेताहरुले भने प्रस्ताव पाँच नेताहरुले संयुक्त रुपमा तयार पारेकाले त्यसबाट भाग्न नमिल्ने अडान राखेका छन् । एउटा पक्ष प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म बैठक बस्न नसकिने अडानमा र अर्को पक्ष उहाँको प्रस्तावमाथि तत्काल छलफल गर्नुपर्ने अडानमा रहेकाले बैठक थप अन्यौलमा परेको हो ।

     


    मंगलवार, मंसिर २ २०७७१२:२८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij