काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. मीनेन्द्र रिजालले उत्तरी नेपालको हुम्लास्थित सीमा विवादबारेको आफ्नो पार्टीको प्रतिवेदनमाथि चिनियाँ पक्षले दिएको प्रतिक्रियाको प्रतिवाद गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेता डा.रिजालले नेपाल–चीन सीमा विवादका सम्बन्धमा भएको पछिल्लो वाद–प्रतिवाद अस्वाभाविक हुनका साथै जटिल भूराजनीतिक र कूटनीतिक अवस्थाको सङ्केत भएको उल्लेख गर्नुभयो ।
‘सीमा विवादलाई लिएर चिनियाँ दूतावासको आधारहीन आरोप लामो समयदेखि नेपाली काङ्ग्रेस र चिनियाँ सरकार तथा त्यहाँका जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमाविपरीत छ,’ उहाँले भन्नुभयो ।
दुई देशबीचको आन्तरिक मामिलामा चीनले भारत र पश्चिमालाई जोड्नु गलत भएको नेता डा. रिजालको ठम्याइ छ ।
काँग्रेसका छायाँ अर्थमन्त्रीसमेत रहेका नेता डा. रिजालले अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको विवाद व्यक्ति बिशेषका कारणले नभइ दुई शक्तिशाली देशबीचको आर्थिक प्रतिस्पर्धाले सिर्जना गरेको बताउनुभयो ।
डा. रिजालका अनुसार चीन र अमेरिकाबीचको प्रतिस्पर्धा आर्थिक आयाममा, विशेषतः कुल ग्राहस्थ उत्पादनको दृष्टीमा, मात्रै सिमीत छ ।
‘पछिल्लो समयमा रुस र चीनको सम्बन्ध सुधार हुँदै गइरहेको छ । त्यस्तै, अमेरिका र भारतको निकटता पनि बढिरहेको छ । अब चीन चाँडै आर्थिकरुपमा निकै ठूलो राष्ट्र बन्ने प्रक्रियामा छ भने सैन्य बल र सामरिक दृष्टिकोणले अमेरिका चीनभन्दा कैयौं वर्ष अगाडि छ’, उहाँले भन्नुभयो ।’
यी दुई देशबीचको सम्बन्ध सुधार हुने सम्भावना कम रहेको उहाँको बुझाइ छ ।
नेता डा.रिजालले भर्खरै अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले विश्वका अन्य मुलुकसँगको सहकार्यमा जोड दिने विश्वास गरेको बताउनुभएको छ । मतपरिणाममा विवाद देखिए पनि त्यो लामोसमय नटिक्ने उहाँको भनाइ छ ।