काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । लामो रस्साकसीपछि आज बालुवाटारमा करिब एक घण्टा चलेको सचिवालय बैठक १० दिनपछि पुनः बस्नेगरी सकिएको हो ।
आगामी मंसिर १३ गते बस्ने बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने र दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
गत शुक्रबार प्रचण्ड १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालयमा पेश गर्नुभएको थियो । जसमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि कटाक्ष गरिएको थियो । त्यसलाई ओलीपक्षका नेताहरुले ‘आरोपपत्र’को संज्ञा दिँदै त्यो फिर्ता हुनुपर्ने अडान राखेका थिए ।
साथै १८ गते स्थायी कमिटि र २५ गते केन्द्रीय समिति बैठक पनि राख्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । यसअघि, केन्द्रीय समितिको बैठक १५ गते राख्ने भनिएकोमा सारिएको हो ।
प्रधानमन्त्री ओलीले प्रत्युत्तर दस्तावेज लेख्न आफूलाई १० दिन चाहिन्छ भनेपछि नेकपा सचिवालयको आज सम्पन्न बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।