एजेन्सी । इटाली र बेल्जियम युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटाली लिग एको समूह एकको विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने बेल्जियम लिग ए को समूह दुईको विजेता बन्दै सेमिफाइनल पुगेको हो ।
समूहको अन्तिम खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै इटाली समूह विजेता बनेको हो । इटलीका लागि २२औं मिनेटमा आन्द्रे बेलोट्टी र ६८औं मिनेटमा डोमेनिको बेरार्डीले गोल गरे । जितपछि इटली ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो ।
यस्तै डेनमार्कलाई ४–२ ले पराजित गर्दै बेल्जियम समूह दुईको विजेता बन्यो । बेल्जियम र डेनमार्कमध्ये जित हात पार्ने टोली समूह विजेता बन्थे । बेल्जियमलाई बराबरीले पनि समूह विजेता बन्न पर्याप्त थियो भने डेनमार्कले जित्नैपर्ने थियो । यस्तोमा बेल्जियमले जित हात पा¥यो ।
बेल्जियमका लागि रोमेलु लुकाकुले दुई तथा युरी थिलेमान्स र केभिन डे ब्रुएनले एक–एक गोल गरे । डेनमार्कका लागि जोनास विन्डले एक गोल गरे भने बेल्जियमका नासेर चाड्लीले एक आत्मघाती गोल उपहार दिए । जितपछि बेल्जियम १५ अंक जोड्दै समूह्य विजेता बन्यो भने १० अंक जोडेको डेनमार्क इंग्ल्याण्डलाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा रह्यो ।
इटाली र बेल्जियमले सेमिफाइनलमा स्थान बनाएपछि अन्तिम चारमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । यसअघि नै फ्रान्स र स्पेन सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।