Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कि म हट्छु, कि प्रचण्ड हट्नुहुन्छ : प्रधानमन्त्री ओली

कि म हट्छु, कि प्रचण्ड हट्नुहुन्छ : प्रधानमन्त्री ओली

  • बिहिवार, मंसिर ४ २०७७

  • 1.4K
    SHARES

  • कि म हट्छु, कि प्रचण्ड हट्नुहुन्छ : प्रधानमन्त्री ओली


    काठमाडौँ – प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्डले पदबाट हट्नुपर्ने बताउनुभएको छ । यदि आरोप सही भए आफू पदबाट हट्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

    नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थन रहेको राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो ।

    सो प्रस्तावमा सरकार र ओलीको व्यक्तिगत कार्यशैलीमासमेत प्रश्न उठाइएको छ ।

    त्यसलाई ओली र ओली पक्षीय नेताहरुले राजनीतिक प्रस्ताव नभइ ‘आरोप पत्र’ मात्र भएको बताउँदै आएका छन् ।

    सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि बुधबार अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने बताउनुभएको छ ।


    बैठकमा आफ्ना धारणा राख्दै ओलीले आफूमाथि लागेको आरोप सही भए आफू हट्ने अन्यथा आरोप लगाउने अर्का अध्यक्षले हट्नुपर्ने बताउनुभएको हो ।

    आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटै पदबाट हटाउने तयारी गरिएको भन्दै ओलीले, आफूले पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई पदबाट हट्न भन्यो भने के हुन्छ ? भनेर पनि प्रश्न गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले आरोपहरु बोकेर कोही पनि व्यक्ति अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न नमिल्ने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन सिध्याउने गरी आरोपहरु लगाइएको भन्दै त्यसको जवाफ लिखित रुपमा नै दिने बताउनुभएको छ ।

    यस्तै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको बताउनुभएको छ ।

    पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रूपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको पौडेलको भनाइ छ ।

    पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशावट गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उहाँले बताउनुभयो ।

    महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पुरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताउनुभयो ।

    हिजोको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उहाँले जानकारी दिनुभयो ।

    यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताउनुभएको छ ।

    नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उहाँले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताउनुभएको हो ।

    नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्न सक्ने बताउनुभयो ।

    पार्टी दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको भट्टराईले बताउनुभयो ।

    कार्यकर्ताहरुलाई पार्टीको अन्र्तविरोधमा पेट्रोल नछर्कन पनि उहाँले आग्रह गर्नुभयो ।


    बिहिवार, मंसिर ४ २०७७०५:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij