काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीभित्रको विवाद गम्भीर भए पनि सहमति जुट्ने सम्भावना पनि उत्तिकै रहेको दाबी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले अन्तिमसम्ममा सहमति जुट्ने दावी गर्नुभएको हो ।
‘पार्टीलाई एकताबद्ध बनाएर लैजान म प्रतिबद्ध छु, पार्टी एकताको अन्तिम कडी चुडिएको नठानियोस्’ भेटपछि प्रचण्डकोे भनाइ उदृत गर्दै नेम्वाङले भन्नुभयोे, ‘स्थिति अलि गम्भीर भएको छ । तर पनि प्रयास गरे एकताबद्ध गर्ने ठाउँ छ ।’
प्रचण्डले सचिवालयमा ७ पृष्ठ लामो पत्र र १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि नेकपा विवाद जटिल मोडमा पुगेको विश्लेषण भइरहेको छ । अर्का अध्यक्ष केपी शर्मा ओली पक्षले प्रचण्डको सो आरोपपत्र फिर्ता गर्नुपर्ने बताउँदै आएको छ ।