काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ ।
आज दिउँसो ३:५० बजेदेखि ४ः४५ सम्म प्रचण्डनिवास खुमलटारमा भएको छलफलले के निष्कर्ष निकाल्यो भन्ने बाहिर आएको छैन ।
यद्यपि, यसअघि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरु सुवास नेम्वाङ र विष्णु पौडलसँग भेटवार्ता गर्नुभएको थियो ।
‘पार्टीलाई एकताबद्ध बनाएर लैजान म प्रतिबद्ध छु, पार्टी एकताको अन्तिम कडी चुडिएको नठानियोस्’ भेटपछि प्रचण्डकोे भनाइ उदृत गर्दै नेम्वाङले भन्नुभयोे, ‘स्थिति अलि गम्भीर भएको छ । तर पनि प्रयास गरे एकताबद्ध गर्ने ठाउँ छ ।’
त्यसैगरी, महासचिव पौडेलले प्रचण्डसँगको भेटपछि नेकपा विवाद गम्भीर परिस्थितिमा पुगेको टिप्पणी गर्नुभएको थियो ।
प्रचण्डले सचिवालयमा ७ पृष्ठ लामो पत्र र १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि नेकपा विवाद जटिल मोडमा पुगेको विश्लेषण भइरहेको छ । अर्का अध्यक्ष केपी शर्मा ओली पक्षले प्रचण्डको सो आरोपपत्र फिर्ता गर्नुपर्ने बताउँदै आएको छ ।