काठमाडौं । कोरोनाको संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आज बिहान भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।
भरतपुर–१७ का वृद्ध यही मंसिर ५ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए ।
मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । हेटौंडा–१० की ५७ वर्षीया महिलालाई भने यही मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो ।
मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो ।