काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाललाई आवश्यर्क पर्ने कोरोना भाइरसविरुद्धको खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आज काठमाडौंमा आयोजना भएको एउटा कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘एकपटक कोरोना भाइरसविरुद्धको खोप बनेपछि नेपालको आवश्यकता पूरा गर्ने कुरा हाम्रो प्राथमिकतामा छ, म नेपाली जनतासँग यो प्रतिबद्धता गर्न चाहन्छु’, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेअर्सले आयोजना गरेको प्रवचन कार्यक्रममा उनले भने ।
सो अवसरमा विदेशसचिव श्रींगलाले कोरोनाविरुद्धको खोप उत्पादन गर्ने अग्र मोर्चामा भारतसमेत दाबी गरे । भारतमा पाँचवटा खोप उत्पादनको तयारी भइरहेको उनले जानकारी दिए ।
भारतको लागि काम गरिरहँदा आफूहरुले नेपालको लागि पनि गरिरहेको उनको भनाइ छ ।
‘ती खोप सबै अहिले परीक्षणको अवस्थामा रहेका छन् । खोपहरु सबै उमेर समूहमा परीक्षण भइरहेको छ’, उनले भने, ‘हामी यो महामारीबाट सँगै मुक्त हुनेछौ र सँगै हाम्रा जनताको सुरक्षा गर्नेछौं ।’