काठमाडौं । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच अहिले साँझ बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
नेपाली सेनाको हेडक्वार्टर जंगी अड्डामा आयोजित छलफल सकेर उहाँ बालुवाटार पुग्नु भएको हो । आज एकदिने औपचारिक भ्रमणका लागि काठमाडौं आउनु भएका चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापति पूर्णचन्द थापासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीसँग भेटवार्तापछि फेंग्हेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय गरिएको छ ।
फेंग्हेलाई जंगी अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गरेको थियो । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ ।