काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद तथा अधिवक्ता मधुकुमार चौलागाईले न्यायपालिकामा सुधारका लागि “क्रमभंगता“ आवश्यक रहेको र यस बिना “नवीनता“ नआउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा कुरा गर्दै प्रधानन्यायाधीशको सिफारिस संविधानको परिधिभित्रै रहेर गरिएको र यसलाई परम्पराभन्दा पनि विधिसम्मत रूपमा हेर्नुपर्ने उनको तर्क छ । सांसद चौलागाईका अनुसार, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले नै सिफारिस गरेका छ जना न्यायाधीशलाई योग्य भनेर स्वीकार गरिसकेको अवस्थामा अहिले प्रश्न उठाउनु विरोधाभासपूर्ण हुने समेत उल्लेख गरेका छन् ।
उनले अदालतलाई ’कार्यकर्ता भर्ती केन्द्र’ बनाउन नहुने र न्यायपालिकाको शुद्धीकरणका हुनुपर्नेमा जोड दिएका छन् । केवल वरिष्ठताका आधारमा मात्र नभई योग्यता र कार्यक्षमताका आधारमा नेतृत्व चयन हुनुपर्ने र यसले मात्रै न्यायालयमा नवीनता ल्याउने उनको दाबी छ ।