काठमाडौं । नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तर सरकारी समिति वार्ता आज हुँदै छ । भर्चुअल माध्यमाबाट हुने वार्तामा नेपालले पाँच वटा मूख्य एजेन्डा निर्धारण गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल र भारतबीच भएको पारवहन तथा व्यापार सन्धि पुनरावलोकन बैठकको मुख्य एजेन्डा भएको मन्त्रालयले जनाएको छ ।
दुई देशबीच हुने लगानी प्रवर्द्धन, सीमामा व्यापार पूर्वाधार निर्माण तथा व्यापार सहजीकरण पनि वार्ताको प्रमुख एजेन्डा भएको मन्त्रालयले जानकारी दिनुभयो । यस्तै दुई देशबीच संयुक्त बिजनेस फोरम बनाउने प्रस्ताव पनि नेपालले बैठकमा राख्ने छ । नेपाल र भारतबीच हुने व्यापारमा गुणस्तर तथा सहजीकरण र नयाँ बजारीकरणको सम्भावनाबारे पनि छलफल गर्न नेपालले प्रस्ताव गरेको छ ।
बिहीबार र शुक्रबार बसेको दुई देशका सहसचिवस्तरीय बैठकले छलफलको एजेण्डा तय गरेको थियो । नेपालका तर्फबाट भर्चुअल बैठकको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गर्नुहुने छ भने भारतको तर्फबाट उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रसहितको टोली सहभागी हुनेछ ।