काठमाडौं । नेकपाका दिवंगत नेता कमानसिंह लामा र याम्बलिङ हाइड्रोपावरबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको सुसनका पति लक्ष्मणकृष्ण राजभण्डारीले जानकारी दिनुभएको छ ।
सुसन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी (पिए) हुनुहुन्छ । उहाँ हाल याम्बलिङ हाइड्रोपावरको अध्यक्ष पनि हुनुहुन्छ ।
कमानसिंहको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए । साथै एक–अर्कालाई मिलाउन भूमिका खेलेका आफूलाई पनि विवादमा मुछिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रवक्ता श्रेष्ठको बचाउ गर्दै भन्नुभएको थियो, ‘कमरेड प्रकाशले कमानससिंहजी हाइड्रो पावरको सेयरका विषयमा समन्वय मात्रै गर्नुभएको हो ।’
यसै सन्दर्भमा कुरा गर्न कर्माचार्य आफ्ना श्रीमान् र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो । प्रधानमन्त्री ओलीसँग यस विषयमा कुराकानी गरेको कर्माचार्य परिवारले जनाएको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाब दिनुभएको सुसनका पति लक्ष्मणले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
‘गल्लीमा कुकुर भुकिरहन्छन्, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विनाटेन्सन हिँडिरहनुपर्छ’, ओलीको भनाइ उदृत गर्दै उहाँले जानकारी दिनुभएको छ ।

‘प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो । उहाँले कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो,’ लक्ष्मणले फेसबुकमा लेख्नुभएको छ ।
यसैबीचमा विभिन्न अनलाइन, युट्युब तथा सामाजिक सञ्जालहरुमा प्रवक्ता श्रेष्ठ र पिए सुसनको चरित्र हत्या गर्ने नियतले समाचार तथा तस्बिर प्रकाशित भएका थिए ।
यसबारेमा लक्ष्मण थप लेख्नुहुन्छ, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्छन् यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दलेविना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो ।’
