काठमाडौँ । नेपालमा २४ घण्टाको अवधिमा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभरकोरोना संक्रमितको कुलसंख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ६ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेमा ३०८ महिला र ४६८ पुरुष रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७४९ पुगेको छ । २४ घण्टामा ९४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४० हजार ३६३ जना घर फर्किसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ ।