एजेन्सी । फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । बुधबार राति स्ट्रासबर्गमाथि ४–० को जित निकालेका टुचेललाई केही घण्टामै पिएसजीले बर्खास्त गरेको हो ।
जित निकाल्दै पिएसजीले शीर्ष स्थानको लियोनसँगको दूरी घटाएको थियो ।
स्काई जर्मनीका अनुसार पिएसजीका खेल निर्देशक लियोनार्दोले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरिएको जानकारी दिएका छन् ।
साविक विजेतासमेत रहेको पिएसजीले यो सिजनमा अहिलेसम्म मिश्रित प्रदर्शन गरेको छ । टोली जारी सिजनमा तेस्रो स्थानमा रहेको छ । क्लबका केही निर्देशकसँग टुचेलको असमझदारी बढेपछि क्लबले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताइएको छ ।
यद्यपि, क्लबले अझै आधिकारिक रुपमा उनलाई बर्खास्त गरेको सार्वजनिक गरेको जानकारी गराएको छैन ।
क्लबका अध्यक्ष नारिस अल खेलिफी टोलीलाई च्याम्पियन्स लिग विजेताका रुपमा हेर्न चाहन्छन् । तर, टुचेलले यो सिजन टोलीलाई राम्रो सुरुवात गराउन सकेनन् । गत सिजन पिएसजी क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।
फाइनलमा टोली बायर्न म्युनिखसँग पराजित भएको थियो । लिग वानको जारी सिजनमा १७ खेल खेलिसक्दा पिएसजीले ११ जित, २ बराबरी र ४ खेलमा हार बेहोरेको छ । च्याम्पियन्स लिगमा पनि सोंचेजस्तो प्रदर्शन गर्न सकेको छैन ।