काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता पाउनेमा शङ्का व्यक्त गर्नुभएको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेको प्रशंग कोट्याउँदै उहाँले यो वखत आफूले राप्रपा विभाजनको घटना सम्झिएको बताउनुभएको छ ।
तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा विभाजनको घोषणा गरिदिएको आरोप लगाउँदै उहाँले अहिले प्रचण्ड–माधव समूहलाई त्यस्तै हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
‘पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा नेकपा अध्यक्ष प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विनासनाखत कानुनविपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस् । मेरो शुभकामना छ ।’
अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भन्ने चेतना अहिले सडकको चिसो भुइँमा बसेका प्रचण्ड र नेपाललाई महसुस भएको हुनसक्ने उहाँको आँकलन छ ।
२०६३ सालपछि काँग्रेस र कम्युनिस्टहरुलेसबै राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेकोले अपवादबाहेक न्याय दुर्लभ भएको अध्यक्ष थापाको आरोप छ ।
‘२०६३ सालपछि कांँग्रेस र कम्युनिष्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ’, उहाँले लेख्नुभएको छ ।
