काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो हुनुहुन्छ भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी हुनुहुन्छ । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको बताइएको छ ।
प्रदेश -१ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद् रहेका छन् ।
यसअघि, आजै प्रदेशका तीन जना मन्त्री र राज्यमन्त्रीले राजनीनामा दिएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन् ।