काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको कलहका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ टोली आज नेपाल आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा रहेको एउटा टोली भर्खरै आइपुगेको हो ।
उनीहरु एयर चाइनाको उडानमार्फत छङ्तु हुँदै काठमाडौं आइपुगेका हुन् ।
चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डर माधवकुमार नेपालसँग सोमबार भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
नेकपाको विभाजनपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।यसअघि पनि पटक–पटक देखिँदै आएको नेकपाको आन्तरिक विवादमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता रहँदै आएको थियो ।
नेकपा विभाजनपछि पनि राजदूत यान्छीले प्रचण्ड, नेपाल, कृष्णबहादुर महरा र वर्षमान पुनलाई भेटेर छलफल गर्नुभएको थियो ।