काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कलह मिलाउन चिनियाँ टोली आएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आपत्ति जनाउनुभएको छ । उहाँले आज ट्विट गर्दै नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ ।
‘नेपालको घरेलु मामिला र पार्टीहरूको आन्तरिक विषयमा उत्तर, दक्षिण र पश्चिम जताको भए पनि दवाव, प्रभाव र हस्तक्षेप स्वीकार गर्नु हुँदैन’, उहाँले लेख्नुभएको छ, ‘नेपालको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले नगरौँ ।’
नेता थापाले दुई छिमेकी देश भारत र चीनलाई समान दूरीमा राख्नुपर्ने आशय व्यक्त गर्नुभएको छ । उहाँले भारतले हस्तक्षेप गर्दा वेठीक र चीनले हस्तक्षेप गर्दा चाहिँ ठीक भन्ने मानसिकता नेपालमा रहेको र सो त्याग्न त्याग्न आग्रह गर्दै भन्नुभएको छ, ‘दक्षिणको आपत्तिजनक र उत्तरको ठीक भन्ने हुँदैन ।’
फुटको अवस्थामा पुगिसकेको नेकपालाई पुनः मिलाउन भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा रहेको एउटा टोली आजै मात्र नेपाल आइपुगेको छ । छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न भन्दै चिनियाँ टोली आज नेपाल आइपुगेको हो ।
चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग सोमबार भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
नेकपाको विभाजनपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
यसअघि पनि पटक–पटक देखिँदै आएको नेकपाको आन्तरिक विवादमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता रहँदै आएको थियो । नेकपा विभाजनपछि पनि राजदूत यान्छीले प्रचण्ड, नेपाल, कृष्णबहादुर महरा र वर्षमान पुनलाई भेटेर छलफल गर्नुभएको थियो ।
