काठमाडौं । शनिबार सर्लाहीको हरिवनमा शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले पैदलयात्रुलाई ठक्कर दिएर फरार भयो । साह सवार ना १ झ ३८४२ नम्बरको झण्डावाल गाडीको ठक्करबाट लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भए ।
लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दियो । प्रहरीका अनुसार मन्त्री साह रौतहटबाट महोत्तरीतर्फ जाँदै गर्दा सो दुर्घटना भएको हो ।
तर, मन्त्री साहले भने पैदलयात्रीलाई आफ्नो गाडीले ठक्कर दिएको नभइ उनी आफैं ‘झुक्किएर’ लडेका हुन् । ती ‘झुक्किएर’ लडेका ती व्यक्तिलाई केही नभएको सुनिश्चित भएपछि आफूहरु त्यहाँबाट हिँडेको र मिडियाले सो विषयलाई अतिरञ्जित बनाएको उनको दाबी छ । उनले आफ्नो सवारीलाई सुरक्षा दिनु साटो गलत सूचना प्रवाह गरेकोमा प्रहरीको समेत आलोचना गरेका छन् ।
‘रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुकिएर लड़ेको व्यक्ति उठेर आफैं हिडे पछि “केही नभएको” भनि ढुक्क भएर हिडेको सामान्य बिषयलाई “ठक्कर दिएर भागे” भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गरेको छ’, भ्रमपूर्ण र अतिरंजित समाचारप्रति गम्भीर ध्यानाकर्षण भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी “खुलेको“ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ ।’
यद्यपि, साहले गरेको दाबी झुटो देखिन्छ । किनकि, दुर्घटनाको सिसिटिभी भिडियोमा हेर्दा पैदलयात्रीलाई मन्त्रीको गाडीले ठक्कर दिएको देखिन्छ । ठक्करपछि ती पैदलयात्री केही टाढासम्म हुत्तिएका छन् । प्रहरीका अनुसार पनि मन्त्रीको गाडीबाट ठक्कर दिएका व्यक्ति घाइते छन् र उनको अस्पतालमा उपचार भएको छ ।
मन्त्री साहको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा सर्वसाधारणले आक्रोस पोखेका छन् । उनीहरुले भिडियोको फुटेजसहित उनले स्टाटसमा कमेन्ट्स गरेका छन् ।
‘बिरामी हस्पिटलमा छन् । प्रहरीले घटनास्थलमै पुगेको तपाईँको गाडीले ठक्कर दिएको पुष्टि गरिसकेको छ । मिडियाले रिपोर्टिङ पनि तपाईँतिरै लक्षित छ । अझै झुट बोल्न लाज लाग्दैन मन्त्रीज्यू ?’, गोकुलप्रसाद दंगाल प्रतिप्रश्न गर्छन् ।
