काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
उक्त कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने नेताहरूको भनाइ छ ।
आइतबार पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी सदस्य योगेश भट्टराईले दिएको जानकारीअनुसार अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको छ ।
स्थायी कमिटी बैठक भोलि १ बजे फेरि बस्ने उहाँले बताउनुभयो । बैठकका लागि आज एजेन्डा पनि तय भएका छन् ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेका छन् ।
आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि भोलीको स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ ।
पार्टीका नेताहरूलाई दिइएको जिम्मेवारी हेरफेर गर्नेलगायत एजेन्डामाथि पनि आज छलफल हुने भट्टराईले बताउनुभयो ।