काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोप बहादुर रायमाझीले अब लोडसेडिङको समस्या नहुने दावी गर्नुभएको छ ।
अहिले चिसो मौसम भएकाले विद्युत बढी खपत भएको र कहिले कहीँ लोडसेडिङ भएको पनि उहाँले बताउनु भयो । आउदो भदौ सम्म ५०० मेघावाट विद्युत बढी उत्पादन हुने जानकारी दिदै उहाँले अव विद्युत निर्यात गर्ने कार्यलाई बढावा दिनु पर्ने अवस्था रहेको बताउनुभयो ।
भदौपछि विद्युत निर्यात गर्न वा खपत बढाउन सकिएन भने देशलाई ठूलो घाटा लाग्ने समेत उर्जा मन्त्री रायमाझीको भनाई छ ।
उहाँले एमसीसी राष्ट्र हितमा नभए यसलाई खारेज गर्नुपर्ने र हितमा भए तत्काल अगाडि बढाउनु पर्नेमा जोड दिदै उहाँले अल्मल्याउन नहुने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा मन्त्री रायमाझीले भन्नुभयो, “एमसिसिको सन्र्दभमा अझै पनि सबै राजनितिक दल विभाजित हुनु हुदैन, मिलेर यसको निकास तत्काल निकाल्नु पर्छ ।”
नेकपाको ओली पक्षका नेता समेत रहनु भएका मन्त्री रायमाझीले आफूले मन्त्री पदको प्रलोभनमा परेर प्रधानमन्त्रीको पक्षमा लागेको आरोपको खण्डन गर्नुभयो ।
उहाँले पार्टीका असन्तुष्ट नेताहरुले पार्टी भित्र बहस गरेर पार्टी बचाउनुको सट्टा पार्टीलाई नै फुटाएको आरोप लगाउनु भयो ।
ओली नेतृत्वको सरकार गिराउने हैसियत कसैको नभएको दावी गर्दै उहाँले बाध्यात्मक अबस्था आएपछि मात्रै प्रधानमन्त्रीले प्रतिनिधि विघटन गरेको बताउनु भयो ।
नयाँ चुनावमा जानु प्रधानमन्त्रीको अग्रगामी कदम भएको दावी समेत उहाँले गर्नु भएको छ । यो कोरोना माहामारीको समयमा त्यस तर्फ ध्यान दिनु पर्ने, बाढी पहिरोको प्रकोपको समस्याबाट जनतालाई मुक्ति दिनुको सट्टा पार्टी भित्रका सबै नेता पदको लोभमा परेको रायमाझीले जिकिर समेत गर्नुभयो ।
प्रतिनिधि सभा विघटन विरुद्ध अहिले विभिन्न राजनितिक दलले सडक संघर्ष गरिरहेका बेला नेता रायमाझीले समस्याको समाधान सडक आन्दोलनबाट नभई चुनाबबाट हुने तर्क गर्नुभयो ।
चुनाबमा जसले जीते पनि देशको विकास, समृद्धि तर्फ लाग्नुपर्ने, पद र प्रतिष्ठाको प्रलोभनमा कोहि पर्न नहुने उहाँको भनाई छ ।