काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले संसद् विघटनविरुद्ध जारी आन्दोलनका लागि गठन गरेको केन्द्रीय संघर्ष समितिको बैठक आज बस्ने भएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकताको बाँकी काम टुंगो लगाउन तथा नेताको जिम्मेवारी बाँडफाँडका लागि गठित कार्यदल बैठक आज बस्दै छ ।
पार्टी एकताको बाँकी काम टुंगो लगाउने र नेताका जिम्मेवारी बाँडफाँडका लागि अध्यक्ष नेपालको संयोजकत्वमा आइतबार १० सदस्यी कार्यदल गठन भएको थियो ।
दाहाल–नेपाल समूहको हिजो बसेको स्थायी कमिटी बैठकले केही नेताको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । पेरिसडाँडास्थित कार्यालयमा हिजो बसेको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, दाहाल–नेपाल समूह स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्ध जारी आन्दोलनका लागि गठित केन्द्रीय संघर्ष समिति सहसंयोजकमा तीन नेतालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
समिति सहसंयोजकमा नेतात्रय योगेश भट्टराई, गणेश साह र पम्फा भुसाललाई जिम्मेवारी दिइएको छ । संघर्ष समिति संयोजकमा यसअघि नै सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।