काठमाडौं । मंगलबारसम्म परेका कोरोना बीमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेको पाइएको छ ।
प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट फिर्ता आएको बीमा समितिले जनाएको छ ।
‘प्रमाणीकरणबाट फिर्ता भएका करिब २ हजार ५ सय त्यस्ता दाबी छन्,’ बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भन्नुभयो, ‘ती दाबीबारे कोरोना बीमा दाबी व्यवस्थापन उपसमितिमा निर्णय गरिने छ ।’
उपसमितिमा छलफल भएपछि ती दाबी भुक्तानी गर्न मिल्ने, नमिल्नेबारे निर्णय गरिने उहाँले बताउनुभएको छ । सोही विषयमा छलफलका लागि बुधबार उपसमितिको बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो ।
दाबी भुक्तानी ढिलाइ भएको विषयमा मंगलबार पनि अर्थ मन्त्रालयमा छलफल भएको छ । छलफलमा विवादित दाबीको निर्णय बीमा दाबी व्यवस्थापन उपसमितिमार्फत गर्न पनि अर्थमन्त्रालयलाई दिएको बताइएको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।