काठमाडौँ । बागमती प्रदेशसभाको अधिवेशन माघ ७ गतेबाट शुरु हुने भएको छ । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले सूचना जारी गर्दै अधिवेशन आह्वान गर्नुुभएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ ७ गते बुुधवार दिनको ३ बजे प्रदेश सभाको सातौ अधिवेशन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
प्रदेश प्रमुख प्रसाईले अधिवेशनमा उपस्थितिका लागि प्रदेश सभाका सवै सदस्यहरुलाई अनुुरोध गर्नुुभएको छ ।
नेकपाको विवादका कारण मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको बेलामा बोलाईएको अधिवेशनलाई चासोका साथ हेरिएको छ ।
पौडेल विरुद्धको अविस्वासको प्रस्ताव प्रदेश सभाबाट पारित भएका प्रदेश सरकार समेत परिवर्तन हुने भएकाले पनि चासोका साथ हेरिएको हो ।
बागमती प्रदेश सभामा नेकपाका ८० सदस्य रहेका छन् । ती मध्ये मुख्यमन्त्री पौडेलका विरुद्धमा ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोमा ५ जनाले हस्ताक्षर फिर्ता लिएको बताएका छन् ।
उनीहरुले हस्ताक्षर फिर्तालिएसँगै पौडेलको पक्ष र विपक्षमा नेकपाका बराबर सांसद देखिएका छन् । नेकपाका ३४ प्रदेश सभा सदस्यहरुले केही दिन पहिले पार्टीको संसदीय दलको नेताबाट पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेका थिए ।
नेकपाको विवादको असर अन्य प्रदेशहरुमा पनि परेको छ । प्रदेश एकमा पनि मुख्यमन्त्री शेरधन राईका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन पहिलोपटक बोलाइएको थियो ।
गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् । तीमध्ये ओली पक्षमा २७ र प्रचण्ड–माधव नेपाल पक्षमा १२ जना छन् ।
त्यस्तै नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ केपी शर्मा ओली निकट हुनुहुन्छ ।