Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भिजन लुम्बिनीको सेती नदी हाइड्रोमा सरकारी कम्पनीको पनि लगानी

भिजन लुम्बिनीको सेती नदी हाइड्रोमा सरकारी कम्पनीको पनि लगानी

  • शनिवार, पौष २५ २०७७

  • 1.4K
    SHARES

  • भिजन लुम्बिनीको सेती नदी हाइड्रोमा सरकारी कम्पनीको पनि लगानी

    काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कास्कीको माछापुछ्रे गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनामा सरकारी कम्पनीले पनि लगानी गरेको छ ।

    सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएलले सेतीनदी जलविद्युत आयोजनामा लगानी गर्न स्वपुँजी लगानी सम्झौता गरेको हो ।

    सम्झौतामा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले हस्ताक्षर गर्नुभएको छ । कूल स्वपुँजी मध्ये एचआइडिसिएलले १८.५२ प्रतिशत (२० करोड रुपैयाँ) लगानी गर्ने सम्झौतामा उल्लेख छ ।

    भिजन लुम्बिनीले तिब्र गतीमा पारदर्शी, सुशासन र जवाफदेहितासहित सामुहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखिएकाले लगानी गरेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘पर्यटकीय नगरी पोखराबाट आधा घण्टामा पुग्न सकिने ठाउँमा निर्माण भइरहेकाले यसलाई देखाउन लायक नमुन आयोजनाका रुपमा सम्पन्न हुने संभावना देखेका छौँ ।”

    सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।

    जलविद्युत् लगानीमा पछिल्लो समय केही विकृति देखिइरहेका बेला यस आयोजनाले त्यसलाई चिर्ने र लगानीकर्तालाई जलुविद्युत क्षेत्रमा फेरि आकर्षित गर्ने विश्वास एचआइडिसिएलका उपमहाप्रबन्धक मुक्तिबोध न्यौपानेले व्यक्त गर्नुभयो ।

    ‘आकर्षक आयोजना र कम्पनीको पारदर्शी व्यवस्थापन तथा सक्षम लगानीकर्ता भएको हुँदा पनि हामी स्वपुँजी लगानी गर्न आकर्षित भएका हौं,’ उहाँले भन्नुभयो ।

    उहाँले भिजन लुम्बिनीको कार्यशैली, क्षमता र सामुहिक भावना अनुकरणीय रहेकाले तत्काल अर्को जलविद्युत आयोजना निर्माण गर्ने तयारी गर्न आग्रह गदैै त्यसका लागि एचआइडिसिएलको तर्फबाट मिल्ने जति सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

    ६ महिना बर्खा र ६ महिना हिउँदमा उत्पादित विद्युत् किन्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । पिपिए अनुसार प्राधिकरणले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपयाँमा विद्युत् किन्नेछ ।

    हालसम्म करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको आयोजनाबाट वार्षिक १४८ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । रसुवा लुना जेभी कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको छ । नदी प्रवाही प्रकृतिको आयोजनामा ५ मिटर उचाई र १३ मिटर लम्बाईको बाँध निर्माण हुनेछ ।

     


    शनिवार, पौष २५ २०७७०८:१२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij