काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार दिल्ली जाँदै हुनुहुन्छ। तीनदिने भ्रमणका क्रममा उनले उच्चपदस्थ भारतीय अधिकारीहरूसँग पनि छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुने छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमा जान लागेका ज्ञवाली सबैभन्दा उच्चपदस्थ अधिकारी हुनुहुन्छ। प्रतिनिधिसभा विघटनअघि भारतबाट परराष्ट्रसचिव हर्षबर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणे, खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र सत्तारुढ भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गर्नुभएको थियो ।
स्रोतका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने योजना छ । मोदीसँग भेट सम्भव नभए उहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता हुने स्रोतको भनाइ छ ।
संयुक्त आयोगको बैठक शुक्रबार हुने छ । ‘संयुक्त आयोगको बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड– १९ सहकार्य, पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायत नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुने छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारतका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुने छ ।’
गत वर्ष सुरुमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे दुई देशबीचको विवादबीच संयुक्त आयोगको बैठक बस्ने लागेको हो । बैठकमा सुस्ता र कालापानीको सीमा विवाद एवं नक्सा प्रकरणबारे पनि छलफल हुनेछ । परराष्ट्रसचिवस्तरीय बैठकमै सीमा विवादबारे छलफल गर्ने भनिए पनि भारतीय परराष्ट्रसचिवको भ्रमणमा त्यसबारे छलफल भएको थिएन ।
सुरुमा मंसिर अन्तिम साताका लागि तय भएको संयुक्त आयोगको बैठक नेपालमा राजनीतिक अन्योलका कारण पछि सरेको थियो । आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो । परराष्ट्रमन्त्री ज्ञवालीलाई ११ मंसिरमा भारतीय समकक्षी डा। एस जयशंकरका तर्फबाट परराष्ट्रसचिव हर्षबर्धन शृंगलाले निमन्त्रणा गर्नुभएको छ ।
आयोगको पाँचौँ बैठक गत वर्ष ४ भदौमा काठमाडौंमा बसेको थियो । भारतीय परराष्ट्रसचिव शृंगलाको ११ र १२ मंसिरमा भएको नेपाल भ्रमणका वेला संयुक्त आयोगको बैठकबारे भारतले तत्परता देखाएको थियो । कूटनीतिक स्रोतका अनुसार अब परराष्ट्रमन्त्रीस्तरीय राजनीतिक संयन्त्रको निर्देशनअनुसार भविष्यमा सीमा विवादका सम्बन्धमा परराष्ट्रसचिवस्तरीय संयन्त्रलाई काम तोकिने छ ।