काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार जना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ ।
संसद विघटनको मुद्दामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा सांसद शशी श्रेष्ठले यसबारे प्रश्न उठाउनुभएको हो ।
रिट निवेदकको तर्फबाट बोल्दै उहाँले प्रधानमन्त्रीले न्यायाधीशहरुसँग गोप्य भेट गरेको विषय जानकारीमा छ कि छैन भनेर प्रश्न गर्नुभयो ।
विचाराधीन मुद्दामा प्रधानमन्त्रीले न्यायाधीश बोलाएर कुरा गर्नुले अदालतप्रतिको विश्वास डगमगाएको कुरा इजलासमा आफूले राखेको श्रेष्ठले बताउनुभयो ।
पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको समाचारहरु बाहिर आएका छन् ।
यस्तै पुस २७ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले १ः२० बजेदेखि २ः५५ बजेसम्म प्रधानमन्त्रीसँग भेट गरेको समाचारहरुमा दाबी छ ।
तर प्रधानमन्त्री निकट नेता सुवासचन्द्र नेम्वाङले यी आरोपहरु मिथ्या रहेको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई बदनाम गर्ने अभिप्रायले यस्ता प्रचार गरिएको बताउँदै न्यायाधीशहरुसँग भेट गरेको विषय सयमा पाँच सय प्रतिशत गलत रहेको दाबी गर्नुभयो ।
यता सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशलाई भेटेको भनी आएका समाचारहरुको खण्डन गरेको छ ।
न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकुल प्रभाव पर्ने गरी मिध्यापूर्ण, भ्रामक, अतिरन्जित, असत्य र कपोकल्पित समाचारहरु सम्प्रेषण हुनु दुखद् र खेद्जन्य विषय रहेको सर्वाेच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।