काठमाडौं । विघटित प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनको विरुद्धमा आज सवै वडामा प्रदर्शन गर्न लागेको छ ।
पूर्व घोषित विरोध कार्यक्रम अन्तर्गत आज देशभरीका ६ हजार ७४३ वडाहरुमा काँग्रेसले विरोध कार्यक्रम गर्न लागेको हो । प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनस्र्थापना हुनु पर्ने मुख्य माग राख्दै काँग्रेसले लगातार विरोधका कार्यक्रम गर्दै आइरहेको छ । दोस्रो चरणको आन्दोलन अन्तर्गत आज अन्तिम कार्यक्रम हो भने अर्को चरणलाई कसरी अगाडि बढाउने भन्ने बारेमा निर्णय गर्न यही माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
विघटनको विषयमा सर्वोच्च अदालतलाई प्रभावित पार्न नहुने, अदालको फैसलालाई कुर्नुपर्ने, अदालतको आदेशलाई मान्नु पर्नेलगायतका विषयमा एकमत हुदै काँग्रेसका नेताहरुले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
काँग्रेसमा सभापति शेरबहादुर देउवा लगायतका नेताहरु निर्वाचनलाई प्राथमिकता दिनु भएको छ भने बरिष्ठ नेता रामचन्द्र पौडेल, गगन कुमार थापालगायतका नेताहरुले प्रतिनिधि सभा पुनस्र्थापना नै पहिलोे अडानको रुपमा उठाउदै आउनु भएको छ ।
नयाँ सरकार बन्नै नसक्ने अवस्थामा बाहेक प्रतिनिधि सभा विघटन सम्वन्धी व्यवस्था संविधानमा नभएकाले संविधान विपरितको कार्य खारेज हुनुपर्ने काँग्रेस नेताहरुको पहिलो सर्त रहेको छ ।
असंवैधानिक कदम खारेजको माग गर्दै वडा वडामा आयोजित कार्यक्रमहरु मध्ये धेरै ठाउँमा केन्द्रीय नेताहरु पनि सहभागी हुन लागेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सभापति शेरबहादुर देउवा कुनै कार्यक्रममा सहभागी नभएपनि बरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौको बालाजु चोकमा दिउसो २ बजे सम्वोधन गर्नुहुने भएको छ ।
त्यसैगरी पूर्व उपसभापति प्रकाशमान सिंहले पनि काठमाडौ कै शान्तिनगरमा विहान ८ः०० बजे, माइतीघरमा दिउसो १ बजे, घट्टेकुलो चोकमा दिउसो ३ बजे र बुद्धनगरमा साढे ४ बजे सम्वोधन गर्नुहुने भएको छ ।
काँग्रेसले विघटनको विरोधका साथै सरकारले गरेका गलत कामहरुका बारेमा जनतालाई जानकारी दिने अवसरको रुपमा पनि यस कार्यक्रमलाई उपयोग गरेको छ ।