काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा निकट पत्रकारहरुको भेला आज काठमाडौमा हुन लागेको छ ।
नेकपाको भातृ संगठन प्रेस संगठन नेपालमा आवद्ध ओली पक्षीय पत्रकारहरुको भेला हुन लागेको हो । भेलाका लागि देशभरीबाट पत्रकारहरु काठमाडौ आएको संगठनका सहसंयोजक गणेश बस्नेतले जानकारी दिनुभयो ।
तत्कालिन नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र तत्कालिन माओवादी निकटको प्रेस सेन्टरबीच एकिकरण भएर सेन्टरका अध्यक्ष महेश्वर दाहालको संयोजकत्वमा प्रेस संगठन गठन गरिएको थियो ।
प्रेस संगठनमा आवद्ध दाहाल नेपाल पक्षीय नेकपा निकट पत्रकारहरुको भेला भने दुई दिन अगाडि काठमाडौमै भएको थियो । दाहाल नेपाल पक्षीय पत्रकारहरुको भेला भएको पर्सी पल्ट आज ओली पक्षीय पत्रकारहरुको भेला हुन लागेको हो ।
ओली पक्षीय भेला विहान ११ बजेपछि राष्ट्रिय सभा गृहमा हुने तय भएको छ । भेलालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पुर्व माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा “बादल“, अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेल, उर्जा मन्त्री तथा पूर्व माओवादी नेता टोपबहादुर रायमाझी, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, सञ्चारमन्त्री पार्वत गुरुङलगायतले सम्वोधन गर्ने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।