काठमाडौं । नेकपाको पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज राजधानीमा बृहत शक्ति प्रदर्शन गर्दै छ ।
प्रतिनिधिसभा विघटनका विरुद्ध विभिन्न खाले संघर्षको कार्यक्रम गर्दै आएको यो समूहले काठमाडौंमा जुलुस र सभा आयोजना गरेको हो । बिहान ११ बजे पार्टी स्थायी कमिटी सदस्यहरुको नेतृत्वमा विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ ।
माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्किने छन् । जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तहरूलाई सहभागी हुन निर्देशन दिइएको छ ।
विभिन्न ठाउँबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा हुनेछन् । त्यहाँबाट पुतलीसडक, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुने छ । प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन २ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने बताईएको छ ।
रत्नपार्कमा हुने विशाल विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।