काठमाडौं । बागमती प्रदेश प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमती सेमिफाइनलमा पुगेको हो । बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो ।
रोमान्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । लुम्बिनीले ९ विकेट गुमाईसकको थियो ।
यस्तोमा दिपेन्द्र रावत रन आउट भएपछि खेल 'टाइ' भएको थियो । त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए । कृष्ण कार्कीले ४१ रन बनाए ।
यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए । सन्दीप सुनार २५ रनमा आउट हुँदा सन्दीप रजाली पनि ११ रनमा आउट भए । बागमतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए ।
रामनरेश गिरि, इशान पाण्डे र तिलक भण्डारीले १–१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले । आदीलले ५५ रनको इनिङ्स खेल्दा इशानले ५१ रनको योगदान दिए । यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ रन बनाए ।